राजनीति

राजपा र सङ्घीय समाजवादीलाई जनताले राष्ट्रिय पार्टीको मान्यता दिनु सकारात्मकः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टीका नेतासँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरमलाई राष्ट्रिय पार्टीको मान्यता दिएर जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

“जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्,” प्रधानमन्त्री ओलीले भने, “हामीले सानातिना कुरामा नअल्झी देश निर्माणमा लाग्नु पर्दछ । मधेशको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु ।”

प्रधानमन्त्री ओलीले संविधान निर्माण र तीनै तहको निर्वाचन पछि कतिपय राजनीतिक दलहरुले विगतमा उठाएका विषयको म्याद सकिएको बताए । “अब हिजोकै विषयमा वादविवाद गरेर हुँदैन,” उनले भए, “नयाँ ढङ्गले सोचौँ, नयाँ ढङ्गले अघि बढौँ ।”

प्रधानमन्त्री ओलीले राजपाले उठाएका मागमा आफू सकारात्मक भएको र तिनलाई चाँडो पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । भेटमा राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिंह थिए ।