अन्तर्राष्ट्रिय

उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग

वासिङटन । अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग पाँच करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उनको मृत्यु भएको थियो ।

अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले दिएको आदेशमा वाम्बियरको मृत्यु हुनुमा कोरिया नै दोषी देखिएको उल्लेख छ । वाम्बियरका बाबुआमाले उत्तर कोरियामा वाम्बियरलाई पक्राउ गरी चरम यातना दिइएको दाबी गर्दै आएका छन् ।

वाम्बियर भर्जिनिया विश्वविद्यालयका विद्यार्थी थिए । उनी घुम्नका लागि साथीहरुसँगै उत्तर कोरिया गहेका थिए । उत्तर कोरियाली अधिकारीहरुले प्रचार सामग्री चोरेको अभियोगमा मार्च २०१६ मा पक्राउ गरी वाम्बियरलाई १५ वर्षको जेल सजाय दिएका थिए । उत्तर कोरियाबाट अचेत ९कोमा० अवस्थामा अमेरिका फर्किएलगत्तै उहाँको जुन २०१७ मा मृत्यु भएको थियो ।

पाँच दिनको उत्तर कोरिया भ्रमणमा जानुअघि वाम्बियरको स्वास्थ्य अवस्था राम्रो थियो । वाम्बियरको मृत्यु हुँदाताका अमेरिका र उत्तर कोरियाबीचको तनाब शिखरमा पुगेको थियो । खासगरी उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र प्रणालीको विकासका कारण दुबै मुलुकबीच तनाबको अवस्था सिर्जना भएको थियो ।

अदालतबाट भएको आदेशले साङ्केतिक विजय मात्र भएको दर्शाउँछ किनभने उत्तर कोरियाले अदालतमा आफ्नो पक्ष राखेको छैन । अदालतको आदेश बमोजिमको क्षतिपूर्ति दिलाउन अहिल्यै सम्भव देखिन्न । तर अदालतको आदेशका कारण वाम्बियरका परिवारजनका लागि क्षतिपूर्ति रकम अमेरिकी सरकारबाटै प्राप्त गर्ने बाटो खुलेको छ । साथै, अदालतले तोकिए बमोजिमको रकम अन्य देशमा रहेका उत्तर कोरियाली बैंक खाताबाट जफत गर्न सकिनेछ ।