प्रदेश 2

दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना अभियान शुरु

राजविराज । सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सप्ताहव्यापी सचेतना अभियान प्रारम्भ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रारम्भ गरेको उक्त अभियान अन्तर्गत आज राजविराजस्थित गजेन्द्र चोकमा कार्यक्रम गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जाडोको समयमा हुस्सुका कारण दुर्घटना हुने गरेकोले चालकलाई सवारी सधानमा फग लाइट, इण्डिकेटर, वाइफर लगायतलाई दुरुस्त राख्न आग्रह गरे ।

प्रहरीले आफ्नो स्रोतसाधनले भ्याएसम्म दुर्घटनालाई न्यूनीकरण गर्न सक्दो प्रयास गरे पनि सम्बन्धित व्यक्ति समेत जिम्मेवार भएमात्र त्यसलाई पूर्णता दिन सकिने उनले बताए ।अभियानमा सहभागीलाई मदिरा सेवन गरी गाडी नचलाउन, आफ्ना सवारी साधन जाँच गरेर मात्र चलाउन, गुडिरहेको गाडीमा मोबाइल फोन प्रयोग नगर्न, अनावश्यक हर्न नबजाउन, पैदलयात्रुलाई सडक पेटीबाट हिड्न लगाउन, सधैँ सुरक्षित स्थानबाट मात्रै बाटो काट्नजस्ता विषयमा जानकारी गराउनाका साथै सचेतनामूलक पर्चा वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख छविरमन भट्टराईले बताए ।

यसैगरी सवारी साधनको आन्तिक परीक्षण, मोटरसाइकल चालकलाई लक्षित विशेष सचेतना कार्यक्रम, सडक अतिक्रमण हटाउने, राजमार्गमा ट्राफिक सङ्केत चिन्हका बोर्ड थप्ने, अडियो भिडियो प्रदर्शनलगायत सातदिने सचेतना अभियान कार्यक्रम गरिने उनले भने ।सो अभियानमा राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, नागरिक समाज, जनप्रतिनिधि, तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।