बाग्मती

‘उद्यमशील युवा सिर्जनशील युवा’ अभियान थालिने

 

भक्तपुर । नेपाल तरुण दलका महासचिव एवं नेपाली काङ्ग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले देशभरका युवालाई रोजगारी दिने गरी देशव्यापी अभियान शुरु गर्न लागेको बताएका छन्।

आज मध्यपुरथिमि राधेराधे चोकमा आयोजित कार्यक्रममा उहाँले नेपाल तरुण दलले अब देशव्यापी अभियान शुरु गर्ने भएको बताए । महासचिव शाहीले भने, “आगामी माघ महीनादेखि उपत्यकालगायत देशको सातवटै प्रदेशमा ‘उद्यमशील युवा सिर्जनशील युवा’ अभियान शुरु गर्न लागिएको छ, यसका लागि देशका सफल र ठूला उद्योगी व्यवसयीसँग तरुण दलले छलफल गरिरहेको छ ।” पहिलो चरणमा देशभरका १० हजार युवालाई उद्यमी बनाउने उद्देश्य छ । उनले व्यवसायमा सफल हुने सूत्रसहित युवालाई उद्यम र व्यवसायमा लगाउने बताए ।

उनले भने, “बेरोजगार समस्या हटाउने दायित्व राज्यको हो तर अहिले युवा आफैँ व्यवसायी बन्न थालेका छन्, युवा आफैँ उर्जनशील भएर काम गर्नु सबैको लागि प्रेरणादायी हो ।” उनले नेपाली काङ्ग्रेसको महासमिति बैठकले काङ्ग्रेस पार्टीभित्रको विवाद र समस्या समाधान गर्न सफल भएको बताउँदै काङ्ग्रेस अब एक ढिक्का भएर अगाडि जाने बताए ।

सो अवसरमा महासचिव शाहीले युवा व्यवसायी राकेश श्रेष्ठ, विजय श्रेष्ठ र राजकुमार श्रेष्ठको रु ४० लाखको लगानीको बर्गर हाउसको शुभारम्भ गरे। हाउसका निर्देशक राकेश श्रेष्ठले उपत्यकाका १० ठाउँमा यसको शाखा सञ्चालन गरेर व्यवसाय विस्तार गर्न लागेको बताए ।