खेलकुद

विभागीय टोलीको फितलो प्रदर्शन

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा छ पटकको लिग विजेता नेपाल पुलिसले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।

विसं २०१२, २०१३, २०६३, २०६६, २०६७ र २०६८ सालको विजेता टोली जारी लिगमा दशौँ चरणका खेल सकिँदासम्म पुलिसले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जारी लिगमा पुलिस चारमा जित, तीनमा बराबरी र तीनमा हार बेहोर्दै तालिकाको छैटौँ स्थानमा छ । कुनै बेला लगातार तीन पटक उपाधि जितेर ट्रफी पचाएको पुलिस पछिल्ला वर्षमा कमजोर बन्दै गएको हो ।

पुलिसका प्रशिक्षक अनन्त थापाले पछिल्लो समय क्लबले उकृष्ट खेलाडी भित्र्याउन नसक्दा नेपाल पुलिस कमजोर बन्दै गएको बताए । “ठूलो क्लबले राष्ट्रिय टोलीका साथै विदेशी खेलाडी तथा प्रशिक्षक क्लबमा ल्याउन थाले, हाम्रोमा भएका केही राम्रा खेलाडीलाई पनि जोगाउन सकिएन र क्लब कमजोर बन्दै गयो ।”
त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको त्रिभुवन आर्मी र शसस्त्र प्रहरीले पनि जारी लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । राष्ट्रिय टोलीका खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लबले पनि जारी लिगमा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन ।

उद्घाटन खेलमा तालिकाको पुछारमा रहेको एनआरटीसँग बराबरी खेलेको आर्मीले पछिल्ला खेलहरूमा जित निकाले पनि १० औँ चरणमा एपिएफसँग पराजित भएपछि आर्मी पनि उपाधि होडबाट बाहिरियो । आर्मीका प्रशिक्षक नविन न्यौपानेले पछिल्ला वर्षहरू आर्मीको खेलमा सुधार आएको दाबी गरे।
“आर्मीलाई यसअघि पावर गेम खेल्थ्यो भन्ने अरोपबाट मुक्त गराएको छु, जारी लिगको उद्घाटन खेलमा कमजोर टोलीसँग बराबरी र एपिएफसँगको नसोचेको पराजयपछि उपाधि होडबाट बाहिरियौँ”, उनले भने ।