आर्थिक

लक्ष्यभन्दा कम राजश्व सङ्कलन

बाँके । नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले पाँच महीनामा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्ष २०७५र०७६ को पाँच महीनाको अवधिमा रु एक अर्ब ३४ करोड एक लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु एक अर्ब २१ करोड ६७ लाख ५७ हजार सङ्कलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिए।

उनका अनुसार लक्ष्यभन्दा करीब १० प्रतिशत अर्थात् रु १२ करोड ३३ लाख ९८ हजार कम राजश्व सङ्कलन भएको छ । “राजश्व कम सङ्कलन हुनुमा विविध कारण हुन सक्छन्”, उहाँले भन्नुभयो, “वार्षिकरूपमा लक्ष्य पूरा गर्ने हाम्रो प्रयास हुनेछ ।” आन्तरिक राजश्व विभागले चालू आवका लागि कार्यालयलाई कूल रु तीन अर्ब ५१ करोड राजश्व उठाउने लक्ष्य दिएको छ ।

कार्यालयले यसअघि साविक भेरी र कर्णाली अञ्चलका १० जिल्लाबाट राजश्व सङ्कलन गर्दै आएको थियो । गत वर्ष कार्यालयले रु चार अर्ब राजश्व सङ्कलन गरेको बताइएको छ । राज्य पुनःसंरचनापश्चात् कर्णाली प्रदेशमा परेका आठ जिल्लालाई सुर्खेतमा हालै स्थापना भएको कार्यालयले हेर्दैै आएको छ ।

नेपालगञ्जको कार्यालयले चालू वर्षबाट बाँके र बर्दियाका मात्र करदाताबाट राजश्व सङ्कलन गरिरहेको कर अधिकृत यज्ञ ढकालले जानकारी दिए। “कार्यालयले यसअघि भेरी र कर्णालीका गरी १० जिल्लालाई हेर्दै आएको थियो, अहिले बाँके र बर्दियालाई मात्र हेरिरहेको छ”, ढकालले भने, “चालू वर्षको साउन महीनादेखि शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क पनि हटिसक्यो, घरबहाल कर स्थानीय तहमा गइसक्यो, यसले पनि लक्ष्य पूरा हुन नसकेको होला ।”

तत्कालीन समयमा साविक भेरी र कर्णालीका १० जिल्लामा ६५ हजार करदाता थिए । त्यसमध्येका ३४ हजार करदाता सुर्खेतस्थित कार्यालयमा सरेका छन् । नेपालगञ्जस्थित कार्यालयमा बाँके र बर्दियाका पुराना ३१ हजार र नयाँ थपिएका समेत गरेर ३५ हजार ५०० करदाता पुगेका छन् । कार्यालयले आय कर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबापतको राजश्व सङ्कलन गर्दै आएको छ ।