समाचार

सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको छः प्रहरी

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको बताएका छन् ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत सोमबार यहाँ आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको भन्दै यसबाट बच्न सदैव सजग हुनुपर्नेमा जोडदिए । उनले साइबर अपराध, सामाजिक सञ्जालको प्रयोग, जबर्जस्ती करणीसम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायबारे विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी समुदायसँगसँगै अगाडि बढ्नुपर्ने बताए । बागमती बोर्डिङका निर्देशक डा सुरेन्द्र सिटौलाले प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने अपराध रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रोलिफिक मावि धुम्बाराही, बागमती कलेज सुकेधारा, द इनसाइट भिजन स्कूल धुम्बाराहीका शिक्षक तथा विद्यार्थीको सहभागीता रहेको थियो ।