लुम्बिनी

हिंसा कम गर्न मोबाइल एप्सको शुभारम्भ

रुपन्देही । किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ । किशोरकिशोरी तथा युवा युवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार गरिएको मोबाइल एप्स खुल्दुली आज बुटवलमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र जर्मन विकास नियोगको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मोबाइल एप्स तयार गरेको हो ।

एप्सको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख उमाशङ्कर चौधरीले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी एप्समा व्यवस्थापन गरिएकाले किशोरकिशोरी र युवाका लागि लाभदायक हुने विश्वास व्यक्त गरे।

स्वास्थ्य सेवामा आधारभूत मनो–परामर्श दिने, परीक्षण गर्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य संस्थामा नभएको सेवाका लागि सेवाग्राहीलाई कहाँ पठाउने भन्ने जानकारी समेत मोबाइल एप्समा रहेको उनले जानकारी दिए। “एप्समा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सबै जिज्ञासाको समाधान छ, उनले भने, “यसको सही प्रयोगले किशोरकिशोरी र युवाले धेरै फाइदा लिन सक्छन् । ”

मोबाइल एप्सले किशोरकिशोरीको यौन जिज्ञासा मेटाउने हँुदा लैङ्गिक हिंसा र यौन हिंसामा समेत कमी हुने विश्वास व्यक्त गरे ।
वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद जोशीले किशोरावस्थामा हुने विभिन्न परिवर्तनसँगै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न चासो, चिन्ता र समस्या आउने भएकाले यसको समाधानका लागि यो एप्सले सहयोग गर्ने बताए।

अधिकांश युवाले किताब, पत्रपत्रिका, बेभसाइट तथा विभिन्न स्रोतबाट लुकिछिपी यौनसम्बन्धी विषय हेर्न पढ्ने गर्छन्, ती सबै सही नहुन सक्छन् । त्यसको सही जानकारीका लागि यो एप्स तयार पारिएको हो,” उनले भने, “यो किशोरकिशोरी र युवामैत्री छ ।”

मोबाइल एप्समा मिथक तथा तथ्य कुरा, सूचना तथा जानकारी, महीनावारी पात्रो, माया, प्रेम, यौन सम्बन्ध, विवाह, गर्भावस्था, गर्भपतन, क्लिनिक खोज र हेल्प लाइनको व्यवस्था रहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका सञ्चार संयोजक सन्तोष क्षेत्रीले जानकारी दिए ।