प्रदेश 1

खडेरीपीडित किसानलाई राहत

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानलाई राहत रकम वितरण गरिएको छ । प्रदेश सरकारको रु २४ लाख ३० हजार र गाउँपालिकाको रु १० लाख ४० हजार ४० गरी कूल रु ३४ लाख ७० हजार ४० रकम यहाँ आयोजित कार्यक्रममा खडेरीपीडित किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए ।

आठराई गाउँपालिका–४, ५, ६ र ७ का सुख्खाग्रस्त क्षेत्रबाट प्रभावित किसानलाई राहत वितरण गरिएको हो । सुख्खाग्रस्त क्षेत्रका ४८६ घरधुरीलाई प्रतिघरधुरी रु सात हजार १४० का दरले राहत रकम वितरण गरिएको अध्यक्ष लिम्बूले बताए।

आठराई गाउँपालिकाको विपत् व्यवस्थापन कोषअन्तर्गत आठराई गाउँपालिकामा रहेका असहय रोगी तथा विपत्मा परेका नागरिकलाई रु तीन लाख ४५ हजार रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले बताए ।