राजनीति

जनताप्रति समर्पित हुनुहुन्थ्यो शन्त नेता भट्टराईः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको हितमा आफू डटेर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  ‘शन्त नेता कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्ती’का अवसरमा आज गोदावरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “देश र जनताको हितमा सदैव तत्पर भएर लाग्ने उद्देश्यका साथ सरकारले विभिन्न योजना बनाएर तदनुरुप काम गरिरहेको छ ।”

सन्त नेता भट्टराईले निःस्वार्थ भावले देश र जनताको हितमा सदैव लाग्ने पाठ सिकाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सत्यको पक्षमा स्वर्गीय भट्टराई सधैँ अडिग रहनुभएको, देश र जनताप्रति समर्पित उहाँले १४ वर्ष जेलजीवन बिताएको बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै प्रधानमन्त्रीले देशको समग्र विकासलाई आफूले केन्द्रमा राखेर काम गरिरहेको बताए ।

देशको अर्थतन्त्रको विकास तथा आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अग्रसर तुल्याउने वर्तमान सरकारका लक्ष्य र उद्देश्यबाट आफू विचलित नहुने स्पष्ट गर्दै उनले लगानी जुटाउन आगामी मार्चको अन्तिम साता काठमाडौँमा लगानीसम्बन्धी सम्मेलन हुन लागेको जानकारी दिए ।

गत वर्षको पाँच प्रतिशतको देशको आर्थिक वृद्धिदर ६।५ प्रतिशत पुगेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रप्रति इमान्दार भएर समाजका सबै वर्गबाट काम भएमा आर्थिक क्षेत्रमा राष्ट्रले फड्को मार्ने उनको अभिव्यक्ति थियो ।

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शन्त नेता भट्टराई बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो भन्दै विसं २०४६ को आन्दोलनको नेतृत्व र संविधान निर्माणमा शन्त नेता भट्टराईको अविस्मरणीय योगदान रहेको स्मरण गरे ।

देउवाले उहाँलाई सम्झँदै, “जेलमा रहँदा भट्टराईले हामीलाई धर्म र दर्शनका बारेमा अध्ययन गर्न सिकाउनुभएको थियो । आज त्यसैलाई अनुशरण गरेर हामी अघि बढिरहेका छौँ,” भने ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शन्त नेता भट्टराई इमान र निष्ठाको प्रतीक हुनुहुन्थ्यो भन्दै उहाँले राजनीतिक जीवनमा कहिल्यै पनि छलकपट र बेइमान नगरेको दृष्टान्त प्रस्तुत गरे  ।