अन्तर्राष्ट्रिय

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८

जकार्ता । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।

दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवनहरु ध्वस्त भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताए । सो विभाग दिएको पछिल्लो विवरणअनुसार यस प्रकोपमा परी १६८ व्यक्तिको मत्यु हुनुको साथै अन्य ७४५ जना घाइते भएका छन् । अझ पनि यस प्रकोपमा परी ३० व्यक्ति हराइरहेका छन् । हराएको व्यक्तिको खोजी कार्यका कठिनाई देखिएको प्रवक्ता सुटोपोले बताएका छन् ।

इन्डोनेसियामा बारम्बार ज्वालामुखी विस्फोट भएको पाइन्छ । शनिबार राति विस्फोट भएको यस ज्वालामुखीको नाम ‘क्राकाटोआ’ हो । यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो । भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।