समाचार

नेकपा बैठकको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आज बिहानको बैठकमा नेता प्रदीप ज्ञवालीले प्रतिवेदनका विषयमा आफ्ना भनाइ राखेपछि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपरान्ह ४ः३० बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम छ । “प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनका विषयमा आफ्ना विचार राखे, बिहानै अध्यक्षद्वयले छलफलमाथिको प्रतिउत्तर राख्ने सम्भावना थियो, समय अनुकुल भएन त्यसैले आजै ४ बजेपछि पुन बस्ने बैठकमा उनीहरुले विचार राख्नुहुन्छ” प्रवक्ता श्रेष्ठले भने ।

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राखे । प्यासफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले बैठकमा आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिवेदन बाहेकका विषयमा केही भनाइ राख्नुभएको श्रेष्ठले जानकारी दिए ।

गएको मङ्सिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । जारी बैठकमा बोल्ने क्रममा कतिपय स्थायी कमिटीका सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकराले जनअपेक्षा अनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए । उठेका सवालमा अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निक्र्यौल हुनेछ ।