समाचार

सार्वजनिक बिदाको माग

काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल ¥याली निकालेको छ ।

बिजुली बजारदेखि शुरु भएको उक्त ¥याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको हो । मानवअधिकारकर्मी कपिल श्रेष्ठले ¥यालीको शुभारम्भ गर्दै मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा रहेको हुँदा सबैको सहअस्तित्वलाई कायम राख्नुपर्नेमा जोड दिए।

उनले नेपालले विश्वव्यापी मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेकाले सबै धर्मावलम्बीलाई समान व्यवहार गर्नुपर्ने बताए । महासङ्घका अध्यक्ष सिबी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा त्यसको प्रचारप्रसारका लागि ¥याली गरिएको बताए । उनले सरकारले वर्षमा एक दिन सो समुदायलाई सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।

दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकोमा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ । देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ । उक्त ¥यालीमा करीब ४०० को सहभागिता थियो ।