समाचार

काङ्ग्रेस महासमिति बैठक आज समापन हुँदै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ ।

आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि सबै प्रतिवेदन पारित भई आजै बैठक समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान मस्यौदामाथि बोल्ने क्रम विहानै देखि जारी छ । बैठकले विधान मस्यौदा, राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनलाई पारित गर्नेछ ।

विधान बाहेक अन्य प्रतिवेदनमाथिको छलफल भने सम्पन्न भइसकेको छ । अन्य चार प्रतिवेदनमाथि बैठकको सुरु मै पेश भई छलफल भएपनि विधान मस्यौदा प्रतिवदेन भने शनिबार मात्र पेश भएको हो । विधान मस्यौदामा शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा समय मै सहमति हुन नसक्दा उक्त प्रतिवदेन पेश हुन ढिलाइ भएको थियो ।

शीर्ष नेताबीच लामो रस्साकस्सीपछि शुक्रबार मात्रै पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका बारेमा सहमति भएको थियो । सोही दिन उक्त प्रस्तावलाई पार्टीको केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मतले पारित गरेको हो । काङ्ग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । महामन्त्री एवं समितिका संयोजक खड्काले केन्द्रीय समिति बैठकबाट पारित विधान मस्यौदालाई शनिबार महासमिति बैठकमा प्रस्तुत गरे।

महासमिति बैठक गत मङ्सिर २९ गते नामावली दर्ता तथा स्वागत र यही पुस १ गते उद्घाटन भई सोही दिनदेखि बन्द सत्र शुरु भएको हो । पाँचै प्रतिवदेनमाथि सबै जिल्ला, निर्वाचन क्षेत्र, वर्ग, समुदाय, भूगोल समेटिने गरी करिब २५० सहभागीले आफ्ना धारणा राखिसक्नुभएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले बताए ।

महासमिति बैठकमा छलफल भइरहेको विधान मस्यौदामा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ । त्यस्तै आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेछन् । सबै समावेशीताका आधारमा सदस्यको निर्वाचनका साथै ३३ जना मनोनित हुने व्यवस्था विधान मस्यौदामा छ ।

काङ्ग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ ।

महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएको भन्दै बैठक लम्बिएको छ । महासमिति बैठक पुस ४ गतेसम्म सिंहदरबार पश्चिम गेटअघिको एक पार्टी प्यालेसमा भएको थियो भने पुस ५ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो । महासमिति बैठकका लागि पार्टी प्यालेसमा रिजर्भ गरिएको निर्धारित समय समाप्त भएपछि बैठक स्थल पार्टी कार्यालय सारिएको थियो ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।

काङ्ग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधान कार्यान्वयन गर्न काङ्ग्रेस नेतृत्वकै सरकारका पालामा गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएको अवस्थामा यो महासमिति बैठक भएको छ । पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठकले पारित गर्ने प्रतिवेदनको कार्यान्वयनले पार्टीलाई नयाँ ऊर्जा दिने काङ्ग्रेसजनको अपेक्षा छ ।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ । त्यस्तै महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि विसं २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुँदैन ।