कर्णाली प्रदेश

श्रीमान्ले छोरी जन्माएको भन्दै श्रीमातीको घर निकाला

जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् ।

२६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् । श्रीमान्ले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन् ।

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ । अस्पतालले अन्य बाहिर जिल्ला लैजान सिफारिश गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको झनमायाले बताइन् । सानै उमेरमा बिहे गरेकी उनले छ सन्तान जन्माएको र तीन मात्रै जीवित रहेको दुखेसो गरीइन् ।

पहिलो सन्तान छोरी जन्मदा मरेको जन्मिएको र त्यसपछि गर्भवती हुँदा गर्भ परीक्षण गर्दा छोरी देखिएपछि दुई छोरी श्रीमान्को दबाबमा गर्भपतनसमेत गरेको उनको भनाइ छ ।

“पटक–पटक छोरी जन्माएपछि निकै दुःख पाएँ” झनमायाले भनीइन्, “श्रीमान् आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन्, आफ्नो कोही भएनन् ।” गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि वृद्ध बुबाको सहारामा अस्पताल पुगेकी उहाँले जन्मदै छोरी रोगी जन्मिएपछि झन् पीडा थपिएको बताइन् ।

कसैको सहयोग पाए छोरीलाई हेपटाइटिस ‘बी’ को खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिति रहेको उनले बताइन्। छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने श्रीमान् भने कहाँ छन् भन्ने पत्तोसम्म नभएको झनमायाले बताइन् ।