समाचार

बिपी विचार आत्मसात गर्न नसक्दा काँग्रेस सङ्कटमा परेको नेताहरुको निष्कर्ष

पोखरा । बिपी विचार समाजका केन्द्रीय सभापति कूलबहादुर गुरुङले काङ्ग्रेसले बिपी विचार आत्मसात गर्न नसकेका कारण पार्टी सङ्कटमा पर्दै गएको बताएका छन् ।

बिपी विचार समाज कास्कीद्वारा आज यहाँ आयोजित ‘बिपी विचार’ विषयक प्रशिक्षण एवं सङ्गठन विस्तार कार्यक्रममा उनले बिपी विचार आत्मसात गर्ने इमान्दार कार्यकर्ताको अभाव भएको उल्लेख गरे । बिपीले देखाएको बाटोमा हिँडे काङ्ग्रेसमा कुनै सङ्कट नपर्नेमा उनको जोड छ ।

पूर्वसभामुख तारानाथ रानाभाटले काङ्ग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको गुनासो व्यक्त गरे । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले बिपीले देखाएको बाटो भुल्दा पार्टी कमजोर बनेको उल्लेख गर्दै बिपी विचारलाई आत्मसात गर्नसके पार्टीको सवलीकरण हुनेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य रामबहादुर गुरुङ, लोकेश ढकाल, गण्डकी उपाध्यक्ष खेमराज पौडेल, सचिव फणिन्द्रराज कोइरालालगायतले बोलेका थिए । सो अवसरमा समाजको कास्की जिल्ला समिति घोषणा गरिएको थियो ।

समाजको संयोजकमा तीर्थ जङ्गली, सहसंयोजकमा पद्मशरण रेग्मी, सचिवमा फणिन्द्रराज कोइराला, सहसचिवमा कृष्णप्रसाद नेपाल, प्रवक्तामा कमल पौडेल र कोषाध्यक्षमा हीरादेवी शर्मा रहनुभएको छ । सदस्यमा खेम गुरुङ, कृष्ण रानाभाट, विष्णुराज पराजुली, देवराज पन्थी, राजु केसी, हरिप्रसाद शर्मा, रामजी कोइराला, देविजंग गुरुङ र सकुन्तला गुरुङ रहेका छन् ।