पु.समाचार

प्रधानमन्त्रीद्वारा मृतकप्रति समबेदना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुर–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आज ट्वीट सार्वजनिक गर्दै उनले दुर्घटनामा निधन भएका शिक्षक तथा विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । मृतकका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले सवारी दुर्घटनाका कारण ठूलो जनधनको क्षति हुँदै गएको अवस्थामा सजगताका साथ सवारी साधन सञ्चालन गरी दुर्घटना कम गर्न सरोकारवालासँग अपेक्षासमेत गरेका छन् । कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।