स्वास्थ्य

गर्भवतीलाई आइरन र क्याल्सियम चक्की निःशुल्क

काठमाडौँ । तारकेश्वर नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क आइरन र क्याल्सियम चक्की दिएको छ । गर्भवती महिलाको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम र आइरन चक्की दिने व्यवस्था गरेको हो । तारकेश्वर नगरपालिकाको ११ वटै वडाको स्वास्थ्यचौकीबाट निःशुल्क आइरन र क्याल्सियम चक्की वितरण गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख अरुणकुमार गिरीले बताए ।

निःशुल्क आइरन र क्याल्सियम दिने व्यवस्था भए पछि अशिक्षा र अन्धविश्वासले गर्भ जाँच नगरी घरमै बस्ने गर्भवती पनि नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी आउने गरेको प्रमुख गिरीले बताए । यस अभियानबाट अहिलेसम्म नगरपालिकाको ११ वटै वडाबाट ३०० गर्भवती लाभान्वित भइसकेका छन् ।

चार पटक नियमित रुपमा परीक्षणका लागि आउने गर्भवतीलाई हरेक पटक रु १०० समेत दिइने गरिएको छ । त्यस्तै सुत्केरी हुन स्वास्थ्य चौकीमा आउने महिलालाई यातायात खर्च स्वरुप रु २ हजार दिनेव्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
न्यायिक समिति निष्क्रिय

तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा कम उजुरी पर्ने गरेको छ । स्थानीय तहका झैझमेला हल गर्न संविधानले न्यायिक समितिको परिकल्पना गरेकामा न्यायिक समिति अझै क्रियाशील हुनसकेका छैनन् । त्यस्ता समितिमा उजुरीसमेत निकै कम पर्ने गरेको छ ।

नयाँ नगरपालिका भएकाले र ग्रामीण बस्तीसम्म न्यायिक समितिका बारेमा जानकारी नहुँदा उजुरी कम परिरहेको हो । कतिपय नगरवासी भने यहाँबाट समाधान नभएपछि अदालत नै जानुपर्छ भनेर सोझै अदालत जाने गरेको नगरपालिकामा कार्यरत कर्मचारी बताउँछन् ।

न्यायिक समितिमा निकै न्यून उजुरी पर्ने गरेको नगरपालिकाका उपप्रमुख भवानी डोटेल धितालले जानकारी दिनुभयो । न्यायिक समिति गठन भएपछि जम्मा ४० मुद्दा मात्रै दर्ता भएका छन् । पर्न आएका मुद्दा पनि अधिकांश एउटै प्रकृतिका छन् । अधिकांश जग्गा वा घरको साँधसिमानाका उजुरी पर्ने गरेका छन् । केही सङ्ख्यामा सम्बन्धविच्छेदको मुद्दा परेको उनले बताए ।

नगरपालिकाको तथ्याङ्कअनुसार ४० उजुरी परेकामा १० नगरपालिकाबाटै मेलमिलाप भएको छ । बाँकी ३० उजुरीमाथिको सुनुवाइ अझै हुनसकेको छैन । समयमा नै उजरी फस्र्योट नहुँदा भर्खरै अभ्यासमा आएको न्यायिक समितिको प्रभावकारिता कतै कमजोर हुने पो हो कि भन्ने चिन्ता व्यक्त हुनथालेको छ ।