पर्यटन/संस्कृति

किरात समुदायको उधौली पर्व सुरु, प्रदेश १ मा भव्य रुपमा मनाइँदै

उदयपुर । किरात समुदायका राई, लिम्बू, याक्खाको मुख्य थलोको रुपमा रहेको प्रदेश १ मा किरात पर्व उधौली सुरु भएको छ।

यो पर्व मंसिर पूर्णिमादेखि करिब १५ दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ।  पूर्णिमाका दिन औपचारिक रूपमा उधौधी पर्व सुरु हुन्छ। प्रकृतिपूजक किरात समुदायले नदी तथा खोलामा माछा ओरालो (उधो) तिर झर्ने यामलाई उधौली भन्छन्। वर्षायामभरि लगाएका खाद्यान्नलगायतका बाली पाकेर खाने सयम भएका यस समयलाई उनीहरुले अन्नपात देवीदेवातालाई चढाउने गर्दछन्।

पछिल्लो समय यसलाई सामुहिक रुपमा मनाइँदै आइएको छ। एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै मिठा परिकार खाने, एक ठाउँमा भेला भएर मौलिक पोशाक लगाएरु आफ्नो परम्परागत नाच नाच्ने गरिन्छ। राई समुदायले झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न सोकवा÷साकेन्वा नाच्ने गर्दछन्। लिम्बूहरुले धाननाच(यालाक) र केलाङ(च्याब्रङनाच) नाच्ने गर्दछन्।

प्रदेश १ को भोजपुर, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुल, तेह्रथुम, झापा, पाँचथ, धनकुटा, इलामलगायतका जिल्लामा यो पर्व भव्य रुपमा मनाइन्छ। किरात समुदायले प्रत्येक मंसिर पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौलीको आफ्नो चाड मनाउने गर्दछन।