लुम्बिनी

क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग

गलेश्वर । घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ ।

घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके–पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट रु दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो ।

सो रकम शुक्रबार युके–पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र रघुगङ्गा–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले स्व पुर्जाकी श्रीमती दालशुभा पुर्जालाई हस्तान्तरण गरेका हुन् ।

स्व पुर्जाका श्रीमती, तीन छोरा र एक छोरी छन् । बाह्र वर्षका जेठा छोरा अपाङ्ग छन् भने अरु सानै छन् । उनीहरुको शिक्षाका लागि आर्थिक अभाव नहोस् भनेर सहयोग गरिएको उनले बताए ।

यस्तै म्याग्दीको विमस्थित किसानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर आगलागी पीडितलाई रु १२ हजार बराबरको राहत सामग्री प्रदान गरेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्यामस्थित आगलागीपीडित कूलबहादुर भण्डारीलाई स्थानीय किसानी माध्यमिक विद्यालयका विद्यार्थीहरूले सङ्कलन गरेका रकमबाट राहत उपलब्ध गराइएको हो । सहयोगी संस्था युरेसका पदाधिकारी र शिक्षक पीडित भण्डारीको घरमै पुगेर वडा सदस्य कर्णबहादुर रोकाको उपस्थितिमा राहत सामग्री प्रदान गरिएको शिक्षक लक्ष्मीकान्त जैसीले जानकारी दिए ।

विद्यार्थी र शिक्षकहरुले आफूले खाने एक दिनको खाजा खर्च कटाउनाका साथै आ–आफ्ना अभिभावकबाट थप रकमसमेत सङ्कलन गरी सहयोग गरिएको बताइएको छ । दिच्यामका भण्डारीको बुधबार बिहान अचानक घरमा आगलागी भएको थियो । आगलागीबाट दुईतले घर र घरभित्र रहेका अन्नपात तथा खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको थियो । अहिले पीडित भण्डारीको परिवार छिमेकीको घरमा बसेका छन् ।