समाचार

काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग निर्माणको निरीक्षण

काठमाण्डाै । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले आज काठमाडौँ–तराई–मधेश द्रुत मार्ग निर्माणको निरीक्षण गरेका छन् ।

समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सांसदहरु, भौतिक पूर्वाधार, रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी भएका थिए ।

निजगढ पुगेको टोलीले दु्रतमार्गको जिरो किलोमिटरदेखि बीचमा पर्ने माउरे, राजदमार, बुदुने, लेनडाँडा तथा मक्खुबेँसीस्थित सेनाको बेस क्याम्पलगायत स्थानमा निर्माणाधीन द्रुतमार्गको निर्माणकार्यबारे जानकारी लिएको थियो । 

सम्बन्धित बेस क्याम्पका प्रमुखले टोलीलाई निर्माणको प्रगति सन्तोषजनक रहेको र लक्ष्य भेटिरहेको जानकारी दिए । नेपाली सेनाका तर्फबाट आयोजनाका प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले सेनाले लगनशीलताका साथ काम गरिरहेको र काममा कुनै पनि अवरोध नभएको बताए ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार नभइसके पनि काममा बाधा नपरेको उनले बताए । उनले दु्रतमार्गको लम्बाइ ७६.२ किलोमिटरमध्ये ललितपुरमा तीन किलोमिटर क्षेत्रमा मात्र समस्या रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीद्वय खनाल र नेपाल तथा समिति सभापति खड्कासँग स्थानीय बासिन्दाले द्रुतमार्ग बनिरहेकामा खुशी व्यक्त गर्दै स्थानीय जनताको सरोकारलाई सम्बोधन गरी द्रुतमार्ग निर्माण हुनुपर्ने बताएका थिए ।

टोलीमा सांसद अनिलकुमार झा, प्रभु साह, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी र देवप्रसाद तिमिल्सिना सहभागी भएका थिए । समितिका सभापतिलगायत सदस्यले द्रुतमार्गको निर्माण सन्तोषजनक पाइएकामा धन्यवाद व्यक्त गर्दै निर्माणलाई थप प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिए ।