राजनीति

१६७ सदस्यीय कमिटी रहने विधान केन्द्रीय समितिबाट पारित, शनिबार महासमितिबाट पास हुने

काठमाडौँ । नेपाली काङ्ग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले सङ्घीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । बैठकले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति रहने मस्यौदा पारित गरेको हो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने निर्णय भएको उनले बताए  । आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेछन् ।

केन्द्रीय कार्यसमिति सङ्ख्या यसअघिको सहमतिअनुसार १६१ रहने वा थपिएका सहमहामन्त्रीको सङ्ख्याअनुसार थप गरी १६७ बनाउने सम्बन्धमा टुङ्ग्याउने जिम्मा प्राविधिक समूहलाई दिएको केन्द्रीय सदस्य विश्वकर्माले बताए ।

पार्टीका शीर्ष नेताबीचको लामो रस्साकस्सीपछि विधानमा रहने पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति भएपछि केन्द्रीय कार्यसमितिबाट सो मस्यौदा पारित भएको हो । काङ्ग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारी छ ।

यसअघि विधानमा सहमति हुन नसक्दा महासमिति बैठक आरम्भ भएको एकसाता भइसक्दा पनि विधान मस्यौदासम्बन्धी प्रतिवेदन बैठकमा पेश हुन सकेको थिएन । काङ्ग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

पारित मस्यौदा केन्द्रीय कार्यसमितिको तर्फबाट महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काले महासमितिको जारी बैठकमा भोलि पुस ७ गते पेश गर्नेछन् । काङ्ग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ ।