लुम्बिनी

तुलसीपुरतर्फ जाँदैगरेको बस दुर्घटनामा १६ जनाको मृत्यु, ११ घाईते

दाङ । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर तुलसीपुरतर्फ फर्किदै थिए । घटनाको थप विवरण आउन बाँकी छ । अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् ।