आर्थिक

बैंकहरुलाई ब्याजदर सीमा ननाघ्न राष्ट्रबैंकले दिएको कडा निर्देशनमा चेम्बरको समर्थन

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले वाणिज्य बैंकले निक्षेपको ब्याजदरमा एकरुपता ल्याएकामा स्वागत गरेको छ । लामो समयदेखि उच्च ब्याजदरको कारणले अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकको पहलमा बैंकर्स सङ्घको बैठकले ब्याजदरमा सहमति गरेको थियो ।

वाणिज्य बैंकले साधारण बचतमा बढीमा ६।५० प्रतिशत, व्यक्तिगत निक्षेपमा बढीमा ९.७५ प्रतिशत र संस्थागत निक्षेपमा ९.५० प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेका थिए ।

चेम्बरले यसअघि बैंकले अनियन्त्रित एवं एकतर्फी तवरबाट उद्योगी तथा व्यवसायीले लिएको कर्जामा लगाएको उच्च ब्याजदर अविलम्ब घटाउन बैंकलाई निर्देशन दिनसमेत राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

अहिले तोकिएको ब्याजदरले आर्थिक गतिविधि बढ्न गई लगानी प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको चेम्बरका निमित्त महानिर्देशक कैलाशकुमार बजिमयले जानकारी दिए ।

एकल अङ्कको ब्याजदरले लगानीयोग्य पूँजीमा माग बढ्ने भएकाले यसलाई पनि सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने चेम्बरले जनाएको छ । काठमाण्डौमा एक बैठक राखी सबै बाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले अस्वस्थ प्रतिष्पर्धाबाट आर्थिक क्षेत्र डामाडोल हुने संकेतलाई हटाउन ब्याजदर सीमा तोकि त्यही अनुसार चल्न निर्देशन दिएपश्चात बैंकहरुले उक्त पालना गर्ने सहमती भएको थियो ।