समाचार

संसद् कानून निर्माणमा लागिरहेको छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच द्विपक्षीय हित तथा संसदीय गतिविधिलगायत विविध विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार भेटघाटमा अध्यक्ष तिमिल्सिनाले नेपालले सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी आवश्यक कानून निर्माणमा संसद् लागिरहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले भने, “समृद्ध नेपाल सुखी नेपाली भन्ने ध्येयका साथ नेपाल सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ । पूर्वाधारसँगै व्यापार, पर्यटन र कृषिको आधुनीकरणमा जोड दिएको छ ।”

सो अवसरमा जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी आगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै जापान सरकारको सहयोगमा निर्माणाधीन पाँच परियोजनाको आफ्नो प्रतिनिधिमण्डलले अवलोकन गरेको जानकारी गराएका थिए । उनले नेपालको आर्थिक समृद्धिमा जापान सरकारको साथ र सहयोग निरन्तर रहने जानकारी दिएका छन् ।