समाचार

उपचारका क्रममा कैदीको मृत्यु

गौशाला । साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताए ।

धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ गतेदेखि लागुऔषध मुद्दामा जरिवानासहित एक वर्ष आठ महीना कैद भुक्तान गर्दै आएका कैदी मण्डल नशासम्बन्धी रोगले ग्रसित रहेको तथा पहिलेदेखि नै पटकपटक विभिन्न अस्पतालमा उनको उपचार हुँदै आएको थियो । आज बिहान करीब ६ बजे पुनःअचानक अत्यधिक बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो भने उनको उपचारकै क्रममा करीब ७ बजे मृत्यु भएको जेलर ठाकुरले बताए ।

मृतक कैदी मण्डलको शव परम्परागत रीतिरिवाजअनुसार अन्तिम संस्कारका लागि उनकी पत्नी प्रेमकुमारी देवीले बुझी लगेको जलेश्वर कारागारले जनाएको छ ।