समाचार

 गिट्टी कुटेर जीवन निर्वाह गरिरहेकी दाङ लालमटीयाका दुर्गाको लघुवित्तले फेरिएको जीवन

लमही । कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहेकी दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल हुनुभएको छ ।ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बङ्गुरपालन शुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गर्नुभएको हो। अहिले उहाँसंग ६० वटा बङ्गुर छन् ।

त्यस्तै लमहीको सतवरियाकी गीता चौधरीसँग माइतीले दशैँ तिहारमा टीका लगाएर दिएको रु एक हजार पाँच सय मात्रै थियो । त्यसपछि उनले लघुवित्तको सहयोग लिएर व्यवसाय शुरु गर्न सकिन्छ भन्ने सल्लाह पाएपछि शुरुमा त्यही रकमबाट घरमा दैनिक चाहिने सलाई, साबुन, कपी, कलमलगायतको व्यवसाय शुरु गरे ।

आम्दानी बढेपछि चौधरीले ग्रामीण लघुवित्तसँग २० हजार ऋण लिएर व्यवसाय विस्तार गर्दै अहिले मनग्य आम्दानी गर्न सफल भएका छन् ।

त्यस्तै तुलसीपुरकी कमला भण्डारीले पनि ग्रामीण लघुवित्तबाट रु २० हजार ऋण लिएर शुरु गरेको कुखुरापालनबाट अहिले सफल कुखुरा व्यवसायी बनेका छन् ।

सानो सानो पूँजी सङ्कलन गरेर शुरु गरेका व्यवसायीले मनग्य आम्दानी गर्न सफल भएका थुप्रै उदाहरण छन् । लघुवित्त संस्थाले व्यवसाय सञ्चालनका लागि ऋण प्रदान गर्नाका साथै आवश्यक तालीम पनि दिने गरेकाले मनग्य आम्दानी गर्न सकिएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमनी चौधरीले बताए ।