पु.समाचार

निर्मला हत्या प्रकरण: एसपीसहित १८ जनालाई कारवाहीको तयारी, यि हुन प्रहरीले गरेका गल्ती

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारबाही गर्ने तयारी गरिएको छ ।

एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनको सिफारिसअनुसार प्रहरी प्रधान कार्यालयमातहतको कानुन विभागले उनीहरूमाथि कारबाही चलाउन लागेको हो ।नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई समितिले बुझाएको प्रतिवेदनमा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी दिल्लीराज विष्ट लगायत १८ जनालाई विभागीय कारबाहीको लागि सिफारिस गरेको हो।

समितिले बुझाएको प्रतिवेदनमा एसपी विष्टसहित दुई डिएसपीहरु अङ्गुर जिसी, ज्ञानबहादुर सेती, तीन जना इन्स्पेक्टर, चार जना सई, तीन हवल्दार र बाँकी ५ जवानलाई कारबाहीका लागि सिफारिस गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरेका छन्।

एआइजी बस्न्यातले बुझाएको प्रतिवेदनमा प्रहरीले घटनाको अनुसन्धानमा लापरबाही गरेको ठहर गरिएको छ। निर्मला प्रकरणमा प्रहरीले निम्न अनुसारको गल्तीहरू गरेको प्रतिवेदनमा उल्लेख छ-

यि हुन प्रहरीले गरेका गल्ती :

घटनाको रेस्पोन्स नगरेको: प्रहरीले गत साउन १० गते निर्मला हराएको भन्दै परिवार प्रहरीकहाँ पुग्दा समेत खोजी कार्यमा नगएको भन्दै प्रहरीको गल्ती देखाएको छ। निर्मला हराएको दिन निर्मलाकी आमा दुर्गादेवी पन्तले छोरी हराएको भन्दै अस्थायी प्रहरी पोस्ट सल्लाघारीमा रिपोर्ट गराएकी थिइन्।

जिल्ला प्रहरी प्रमुख घटना स्थलमा नपुगेको : कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिल्लीराज विष्ट घटना भएपछि पनि तत्काल घटनास्थलनमा नपुगेको समितिको प्रतिवेदनमा उल्लेख छ। प्रहरी प्रमुख दिल्लीराज विष्टको कार्यालयको दुरी निर्मलाको शव भेटिएको ठाउँबाट करिब तीन किलोमिटर मात्रै छ। तर, पनि उनी घटनास्थलमा चार दिनपछि मात्रै पुगे।

घटना स्थलको सुरक्षा नगरेको : निर्मलाको शव भेटिएको स्थानमा प्रहरीले आफ्नो दक्षता प्रयोग नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रहरीले घटनास्थलका सुरक्षित गर्ने, अन्य व्यक्तिको प्रवेशलाई रोक गर्ने लगायत काम नगरेको देखिएको छ। नेपाल प्रहरीले प्रत्येक अपराध अनुसन्धान गर्ने एकाईमा सोको अफिसर, प्रमाण सङ्कलन गर्न सोको किट बक्सको समेत व्यवस्था गरेको छ।

प्रमाण बरामद नगरेको : प्रहरीको सबैभन्दा ठूलो गल्ती घटनास्थलमा प्राप्त प्रमाण बरामद नगर्नु भन्ने उल्लेख गरिएको छ। शवमा भेटिएको कपडा र अम्बाको झोला सुरक्षित नराखेर प्रहरीले गल्ती गरेकाले कारबाहीको लागि सिफारिस गरिएको छ।

कुकुर प्रयोग नगर्नु : निर्मलाको शव भेटिएपछि कुकुरको प्रयोग नगरी गल्ती गरेको एआइजी बस्न्यातको समितिले उल्लेख गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी सुवेदीले बताएका छन्। जघन्य प्रकृतिको घटना हुँदा पनि प्रहरीको तालिम प्राप्त कुकुर प्रयोग नगर्नुले प्रहरीको कमजोरी भएको उल्लेख छ।

झुटो प्रमाण पेश गरेको : प्रहरीले झुटो प्रमाण पेश गरेको समेत प्रतिवेदनमा उल्लेख छ। प्रहरीले अभियुक्त सार्वजनिक गरेका दिलीपसिंह विष्टको विरुद्ध गोलीको टुक्रा ल्याएर नक्कली प्रमाण पेश गरेको भनिएको छ। अहिले गोजीमा गोलीको टुक्रा कसले हाल्यो भन्ने अनुसन्धान भइरहेको एसएसपी सुवेदीले जानकारी दिए।

जबर्जस्ती कबुल गराएको प्रतिवेदनमा प्रहरीले निर्मलाको हत्या अभियोगमा सार्वजनिक गरेका ४१ वर्षीय दिलीप सिंह विष्टलाई यातना दिएर कबुल गर्न लगाएको उल्लेख गरिएको एसएसपी सुवेदीले जानकारी दिए।