राजनीति

देउवालाई हराउने उद्घोषसहित बरिष्ठ नेता पौडेलद्वारा काङ्ग्रेस महाधिवेशन माग

काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गरेका छन् ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित मन्तव्य राख्दै उनले पार्टीको जारी महासमितिको बैठकपश्चात् पार्टी सङ्गठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्न सुझाए ।

अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई सँगसँगै लैजानुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यही पुस १६ गतेदेखि २०७८ वैशाखसम्मका विभिन्न अभियानको तालिका सार्वजनिक गरेका छन् ।

“पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ । कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्छ । हाम्रा सदस्यलाई वैचारिक र साङ्गठनिक प्रशिक्षण दिनुपर्छ, कम्युनिष्टले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो भन्ने विषयमा बहस सर्वत्र चलाउनुपर्छ”, उहाँको मन्तव्यमा उल्लेख छ ।

वरिष्ठ नेता पौडेलले सबै भ्रातृसंस्था र जनसम्पर्क समितिको समयमै अधिवेशन सम्पन्न गर्ने, समयबद्ध काम गर्ने बानी बसाल्ने, पार्टीका सबै तहका नियमित बैठक गर्ने र बैठकका एजेण्डा समयसापेक्ष बनाई व्यवहारमा नै लोकतान्त्रिक समाजवादी पार्टी निर्माणमा जुट्ने अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

उहाँले अभियानअन्तर्गत विसं २०७५ पुस १६ गतेदेखि वर्षभरि गर्ने विभिन्न जागरण अभियान गर्नुपर्ने र विसं २०७५ पुस १६ देखि विसं २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र साङ्गठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ चलाउने सुझाव पेश गरेका छन् ।

त्यस्तै विसं २०७६ असोज मसान्तसम्म ‘क्रियाशील सदस्यता वितरण र नवीकरण’ सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने, विसं २०७६ मङ्सिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा÷ गाउँपालिका, नगर÷उपमहानगर÷महानगरपालिका अधिवेशन सम्पन्न गर्ने र विसं २०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र÷प्रतिनिधिसभा एवं निर्वाचन क्षेत्र÷जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिकामा उल्लेख छ ।

विसं २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने, २०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने, विसं २०७६ चैतबाट विसं २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिको वैचारिक तथा सङ्गठनात्मक प्रशिक्षक प्रशिक्षण तालीम सञ्चालन गर्ने नेता पौडेलको सुझाव छ ।

विसं २०७७ चैत मसान्तसम्म जनसरोकारका कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने, विसं २०७८ वैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने उनको लिखित मन्तव्यमा उल्लेख छ । नेता पौडेललले आफू सभापति लड्ने र सभापति देउवालाई उक्त महाधिवेशनमा हराई काँग्रेसलाई पुनर्जिवित गर्ने मनशायका कारण उक्र महाधिवेशनको माग गरेको देखिन्छ ।