अन्तर्राष्ट्रिय

यमनको शान्तिवार्तामा सघाउन अमेरिका र ओमान सहमत

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र ओमानी विदेशमन्त्री युसुफ बिन अलावी बिन अब्दुल्लाहबीच बुधबार अमेरिकाको वासिङटनमा भेटवार्ता भएको छ ।

विदेशमन्त्री पोम्पेओले ओमानले युद्धग्रस्त यमनको विषयलाई लिएर गरिरहेको सकारात्मक योगदानप्रति कृतज्ञता ज्ञापन गर्नुभएको ह्वाइटहाउसले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका विशेषदूतको अगुवाईमा स्वीडेनमा पछिल्लो पटक भएको शान्तिवार्ताका लागि ओमानले पनि सहजीकरण गरेको थियो । उनीहरुबीच यमनका बारेमा आगामी चरणको वार्ताका लागि पनि सहयोग गर्ने सहमति भएको छ ।

गत सोमबार मध्यरातिदेखि यमन सरकार र त्यहाँका हुथी विद्रोहीबीच युद्धविराम भएको छ ।

यमन सन् २०१४ देखि नै गृहयुद्धमा छ । यमनका इरान समर्थित हुथी बिद्रोहीले राजधानी सानालाई कब्जा गर्नुका साथै राष्ट्रपति अब्द–राबुह मन्सुर हाडीको सरकार अपदस्थ गरेका थिए । तर साउदी अरबको अग्रसरतामा निर्माण भएको गठबन्धनले सन् २०१५ देखि हुथी बिद्रोही विरुद्ध हवाई आक्रमण गरिरहेको छ ।

उक्त युद्धका कारण १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने यमनमा गम्भीर मानवीय सङ्कट उत्पन्न भएको छ ।