बाग्मती

क्षमताअनुसार उत्पादन हुँदैन पनौती विद्युत् केन्द्रबाट

बनेपा । देशको नै तेस्रो पुरानो काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीस्थित पनौती जलविद्युत् उत्पादन केन्द्र पानीको अभावमा उत्पादन क्षमता भए पनि भने जति विद्युत् उत्पादन गर्न सकिएको छैन ।

विसं २०१६ मा सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन शुरु गरेर २०२२ सालबाट विद्युत् उत्पादन गर्दै आएको सो जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्दै आएको ५३ वर्ष भइसकेको छ । दुई हजार ४०० किलोवाटको क्षमता रहेको सो केन्द्रमा तीन वटा युनिटका मेशिन रहेका छन् ।

सो विद्युत् केन्द्रको एउटा मेशिन चल्दा ८०० किलोवाट विद्युत् उत्पादन हुने गर्दछ । पानीको अभावमा अहिले एउटा मेशिनबाट ७५० किलोवाट मात्रै विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ ।

एउटा तयारी अवस्थामा राखेर दुई वटा मेशिन निरन्तर चलाउने गरी तयार पारिएको सो विद्युत् गृहमा अहिले एउटा मात्रै मेशिन चल्छ । पानीको प्रवाह कम भएका कारण आवश्यक परेको बेलामा अन्य मेशिन पनि केही समयका लागि चलाउने र अरू बेला एउटा मात्रै मेशिन चल्ने गरेको कर्मचारीहरु बताउँछन् ।

केन्द्रका प्रमुख शिवकुमार थापाका अनुसार भएको पानीको स्रोत खोपासी आसपासका करीब नौ÷दश हजार रोपनी खेतमा आलु खेती गर्न सिँचाइका लागि पानी लाने गरिएको छ । खोलाको मुहान आसपासमा ढुङ्गा तथा क्रसर खानी सञ्चालन गरेर खोलामा लेदो मिसाएको कारण पानी धमिलो हुने गरेकाले पानी कम हुँदै गएको बताए ।

भएको पानी पनि किसानहरुले सिँचाइमा प्रयोग गर्ने गरेकाले त्यसबाट बचेको पानीले विद्युत् उत्पादन गर्दै आएको थियो । त्यसमा पनि हिउँदमा पानीको प्रवाह कम भएकाले विद्युत् उत्पादन कम हुने गरेको थियो ।

पछिल्लो समयमा पानीको मुहानमा खानीबाट निस्केको माटो सिधै मिसाएको कारण त्यही पानी बगेर आउने भएकाले पोखरी र कुलो एक वर्षमा नै भरिने गरेको कार्यालयका प्रमुख थापाले बताए ।

“खानीले त्यसरी जथाभावी खोलामा माटो फालेका कारण समस्या भइरहेको छ, माटो चिम्टाइलो भएका कारण बग्दै नबग्ने टाँसेर बसेका कारण पोखरी र कुलोको क्षमता घट्दै गएको छ,” थापाले भने, “पहिला चार÷पाँच वर्षमा सफा गरे पनि पुग्ने पोखरी अहिले त खानीले माटो खोलामा मिसाएको कारण वर्षैपिच्छे सफा नगरी सुख्खै छैन ।”

त्यससँगै विद्युत् गृहमाथिल्लो भेगतिर बस्नेहरुले फोहर जति सबै खोलामा हालिदिने गरेका कारण पोखरीमा सबै फोहरको डङ्गुरले भरिँदै गएको छ । यहाँ उत्पादन गरिएका बिजुली २० किलोमिटर टाढा रहेको भक्तपुरको प्रशारण लाइनमा लगेर जोडिन्छ र त्यहाँको सब–स्टेशनबाट अरू ठाउँमा बाँड्ने गरिएको छ ।

पानी अभावले गर्दा बर्खामा दुई वटा मेशिन निरन्तर चल्ने र हिउँदमा एउटा मात्रै मेशिन चल्ने गरेको उनले बताए । अहिले सो केन्द्र सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले प्रयोगमा ल्याएको प्रविधिमध्येको नयाँ प्रविधिको मेशिन जडान गरी उत्पादन दिन थालेको छ ।

उक्त मेशिनमा आवश्यकताका आधारमा स्वचालित ढङ्गले बन्द हुने र खोल्ने प्रविधि जडान गरिएको छ । “पहिला भल्व खोल्नलाई चार जना मान्छे लाग्थ्यो, अहिले स्वतः सञ्चालन हुन्छ र अटोमेटिक शटडाउन हुन्छ,” उनले भने, “मेशिन नयाँ भएकाले विद्युत् भार सन्तुलन आफैँ हुन्छ, पहिला त उत्पादन नभएर जेनेरेटर नै जलेको थियो ।”

कर्मचारीले भएको भौतिक संरचना संरक्षण गर्नका लागि पहल गरिरहेको भए पनि बेलाबेलामा अलिअलि सिमाना विवाद लगायतका समस्याले सताइरहेको प्रमुख थापाले बताए । त्यससँगै पुरानो प्रविधिको केन्द्र भएकाले पुरानो उपकरणहरु नपाइने गरेकाले भनेको बेलामा आवश्यक परेको मेशिन किन्न नपाइने अवस्था रहेको छ । त्यसरी सञ्चालन भइरहेको केन्द्र अहिले काठमाडौँ विश्वविद्यालय र नेपाल विद्युत् प्राधिकरण बीचमा चार महीनाअगाडि विद्यार्थीलाई त्यहाँ अध्ययन गर्ने केन्द्र बनाउन दुई निकायबीच सम्झौता भएको छ ।

सो अनुसार त्यहाँका विद्यार्थीलाई अध्ययन गर्न आउने बेलामा देखाउनका लागि सहज वातारण बनाउनुपर्छ । “अरू विश्वविद्यालयबाट विद्यार्थी आउँदा कलेजबाट चिट्ठी ल्याउनुपर्छ, काठमाडौँ विश्वविद्यालयबाट आउँदा चाहिँ चिठ्ठी पर्दैन, आएर अध्ययन गर्न र हेर्ने काममा सिधै प्रवेश गर्न पाइन्छ”, कार्यालय प्रमुख थापाले भन्नुभयो । सो सम्झौता १० वर्षका लागि गरिएको जनाएको छ ।

केन्द्रको जग्गा २०६ रोपनी रहेको सो केन्द्र माथिबाट पठाएको बजेटबाट भएको भौतिक संरचनाको मर्मतसम्भार गरिरहेको छ । स्थापनाको बेलामा तालीम केन्द्रका रुपमा ट्रान्सफर्मरहरु र लाइन मर्मत गर्नका लागि तालीम केन्द्र नै निर्माण गरेको भए पनि पछिल्लो समयमा भक्तपुरको खरिपाटीमा ठूलो तालीम केन्द्र स्थापना भएपछि यहाँका तालीम केन्द्र विस्थापित भइसकेको छ । केन्द्रमा हाल २५ जना कर्मचारी कार्यरत छन् ।