प्रदेश 1

प्रविधि छाडेर हातैले चिया टिप्छन् किसान

इलाम । पछिल्लो समय खेत जोत्नदेखि धान काट्नसम्म परम्परागत प्रविधि छाडेर आधुनिक शैली अपनाउन थालिएको छ । कम जनशक्ति र थोरै लागतमा काम हुने भएपछि सबै क्षेत्रमा अहिले प्रविधिको प्रयोग हुन थालेको हो । तर, यसको ठिक उल्टो चिया टिपाइमा भने प्रविधि प्रयोग घट्दै गएको छ ।

चियामा प्रविधि प्रयोग ‘झञ्झटिलो’ र धेरै लागत लाग्ने भएकाले प्रयोग गर्न छाडेको चिया किसान बताउँछन् । पछिल्लो समय अधिकाँश किसानले प्रविधि छाडेर हातैले चिया टिप्न थालेका छन् ।

मेशिनले टिपिएको चिया खस्रो हुने, फ्याक्ट्रीले लिन नमान्ने र टिपेपछि पनि फेरि केलाउनु पर्ने समस्याले मेशिन प्रयोग घटाउँदै लगेको सूर्योदय नगरपालिकाका चिया किसान लालबहादुर राईले बताए । हातले चिया टिप्न मजदूरको समेत अभाव हुन थालेपछि उक्त मेशिन भित्र्याइएको थियो । तर, मेशिनबाट अपेक्षाकृत ‘काम खान’ नसकिएपछि फेरि हातले नै चिया टिप्न शुरू गरिएको चिया किसान राईको भनाइ छ ।

राईले भने – “हामीले हाम्रो सहकारी सापेन चिया उत्पादक सहकारी संस्थामार्फत तीन वटा मेशिन खरिद गरेका थियौं । तर, मेशिनको प्रयोग राम्ररी गर्न नसकेपछि पुनः हामीले छाड्दै लगेका छौं । तीनमा अहिले एउटा मात्र मेशिनको प्रयोग हुँदै आएको छ ।”

उन्नति परियोजना र चिया तथा कफी विकास बोर्डले चिया क्षेत्रमा सहयोग गर्दै मेशिन सहुलियतमा दिन थालेपछि किसानहरू प्रविधितर्फ उन्मुख भएका हुन् । मेशिन प्रयोगमा नै समस्या हुन थालेपछि किनेका मेशिन समेत प्रयोगविहीन बन्दै गएको किसानहरूको भनाइ छ ।

भौगोलिक विकटता र ‘प्लान्टेशन’ मा समस्या भएकाले चियामा मेशिनको प्रयोग गर्न नसकिएको अर्का चिया किसान तथा इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स प्रशोधन केन्द्रका टङ्क दाहालले बताउनुहुन्छ । पहाडी क्षेत्रमा पर्ने इलाम जिल्ला भौगोलिक रूपमा पनि बनावट एकै किसिमको नभएकाले मेशिन प्रयोगमा समस्या देखिएको दाहालको भनाइ छ । उनले भने – “मेशिन प्रयोगका लागि भौगोलिक बनावटसमेत समथर किसिमको हुनुपर्छ । हाम्रो चिया बगान भने यस्तो छैन । त्यही भएर हामीले चिया टिप्न मेशिन प्रयोग गर्न सक्दैनौं ।”

आफूले समेत चिया टिप्न केही वर्ष अघि मेशिन खरिद गरेको तर, प्रयोग गर्न नसकेपछि त्यतिकै मेशिन थन्क्याएर राखेको दाहालले बताउनुभयो । जिल्लामा चिया फाड्न मेशिन प्रयोग उपयुक्त मानिए पनि टिप्न भने प्रभावकारी नभएको हो ।