लुम्बिनी

दुई महीनादेखि विद्युत् उत्पादन बन्द

नवलपरासी । पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको छ ।

नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी भारतीय गण्डक नहरमा पानी बन्द भएका कारण नहरमा आवश्यकताअनुसार पानी नहुँदा विद्युत् उत्पादन गृहमा लामो समयदेखि विद्युत् उत्पादन बन्द हुन पुगेको हो ।

कार्यालयका अनुसार भारतीय पक्षले गण्डक नहरमा गत कात्तिक ६ गतेदेखि नहरमा पानी बन्द गरेपछि नहरमा आवश्यक पानी नहुँदा उत्पादन बन्द हुन पुगेको छ । भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करीब दुई महीनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । सो अवधिभर विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुने निश्चित छ ।

विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ । अहिले आवश्यकताअनुसार नहरमा पानी नहुँदा उत्पादन बन्द छ । तत्कालै अब नहरमा आवश्यक पानी आएपछि पुनःविद्युत् उत्पादन गृहबाट विद्युत् उत्पादन गर्ने गृहको योजना छ ।

प्रतिदिन ३।५ देखि चार युनिट विद्युत् उत्पादन हुने यस विद्युत् उत्पादन गृहमा करीब दुई महीनादेखि विद्युत् उत्पादन नहुँदा सरकारलाई दैनिक लाखौँ राजश्व घाटा हुँदै आएको अवस्था देखिन्छ । विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन जडित गरी दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरुपमा बिग्रिएर थन्किएका छन् ।

नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा लामो समयदेखि एउटा मात्र टवाईन सञ्चालनमा आउने हुँदा क्षमताभन्दा निकै कम करीब ३।५ देखि चार मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारको सहयोगमा तयार गरिएको विद्युत् उत्पादन गृहलाई २०३६ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।