खेलकुद

उपाधि होडमा मनाङलाई चुनौती

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ ।

बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा रहेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको हो ।

लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित २७ अङ्कको साथ तालिकाको शीर्ष स्थानमा छ । मनाङलाई पच्छ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । लिगमा अब सबै क्लबले चार÷चार खेल मात्र खेल्न बाँकी छ ।

मनाङले अब दशौँ चरणमा नेपाल पुलिस, ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाले १० औँ चरणमा ब्रिगेड ब्वाइज, ११ औँ चरणमा मनाङ मस्र्याङ्दी, १२ औँ चरणमा थ्रीस्टार र १३ औँ चरणमा सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले नवौँ चरणको खेल समाप्तिपछि अब उपाधि जित्न मनाङलाई कसैले रोक्ने नसक्ने प्रतिक्रिया दिए । उनले भने, “हामीले लिगका लागि अन्य क्लबको तुलनामा धेरै लगानी गरेका छौँ, लगानीअनुसार प्रतिफल हामीले पाउनुपर्छ ।”

नवौँ चरणका खेल सकिँदासम्म २२ अङ्कका सात थ्रस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् ।

यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १० औँ, ब्रिगेड ब्वाइज, फ्रेन्डस, मछिन्द्र र न्युरोड टिम (एनआरटी) क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२ औँ, १३ औँ र १४ औँ स्थानमा छन् । लिगको कूल ९१ खेलमध्ये हालसम्म ६२ खेल सकिसकेको छ भने अब २९ खेल बाँकी रहेका छन् ।