प्रदेश 2

उपचार गर्न असमर्थलाई सहयोग

सप्तरी । अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ ।

वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली युवाद्वारा सञ्चालित ‘ललकुदेवी बचाउ अभियान’मार्फत सङ्कलन गरिएको रु ७५ हजार हस्तान्तरण गरिएको अधिकारकर्मी दीपेन्द्र पासवानले जानकारी दिए ।

श्री सल्हेश सेवा समाजका अध्यक्ष दुर्गानन्द पासवानले बिरामीको घरमै पुगी पीडित परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको बताए । समाजकै रामउद्गार रामका अनुसार आर्थिक अवस्थाले उपचार गर्न नसकिरहेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट पाएपछि कतारमा कार्यरत कामदारले सहयोगस्वरुप सङ्कलन गरेको रकम पठाएका हुन् ।

अल्सर, कमलपित्त र बवासिर रोगबाट ग्रस्त ललकुदेवी मुख तथा मलद्वारबाट दैनिक रगत बग्ने र बेहोस हुने थिइन् । तीन वर्षदेखि विभिन्न ठाउँका अस्पतालमा उपचार गराउँदै रकम सक्नुभएकी ललकुदेवीले पछिल्लो पटक समाज तथा नातेदारसँग ऋण लिएर उपचार गराउँदै आएकी थिइन् । लामो अवधिसम्म रोग निको नभएपछि तथा उपचारका लागि करीब रु पाँच लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि निराश बन्नुभएकी ललकुदेवी उपचार गराउन असमर्थ थिइन् । उपचार महङ्गो भएकाले थप सहयोग जुटाउन सक्दो पहल भइरहेको दुर्गानन्दले बताए ।