समाचार

उपत्यकाबाट ७७ जना पाकेटमार पक्राउ, उनीहरुको आफ्नै कोड, प्रहरीलाई भन्छन् ‘ठुल्दाइ’

काठमाडौँ । प्रहरीले राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा चोरी तथा पाकेटमारी गर्नेलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको ५० जनाको  विषेश टोलीले ७७ जना पकेटमार तथा चोरहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट पाँच लाख छयानब्वे हजार रुपैयाँसमेत बरामद गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए। बरामद भएको १ लाख ६० हजार ७०० रुपैयाँ चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरी फिर्ता गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड,  ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल, चक्कुलगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।

यात्रुको भिडभाड हुने समयमा पाकेटमार चोरी गर्ने गरेको प्रहरीको भनाइ रहेको छ। पाकेटमारहरुले सार्वजनिक सवारी समूह बनाएर कोड ल्याङग्वेज प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

पकेटमारले पैसालाई द, मोबाइललाई कान,  पकेटमार पीडितलाई रामे, पैसा धेरै छ भन्नलाई टानको द पैसा, पैसा थोरै छ भने जुटको द, गाडीलाई कांचा भन्ने गरेको खुलेको हो।

त्यस्तै केटालाई छापा, केटीलाई भद्री, पुलिस आयोलाई ठुल्दाई आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नुलाई टप्की, गाडीभित्र अगाडि सर भन्नलाई  अंकल जा र गाडीभित्र पछाडी सरलाई चिछल जा भन्ने गरेको खुलेको छ।

राजधानीमा मात्र करिव ५ सय पकेटमारहरु रहेको प्रहरीले जनाएको छ। यस्ता भाषा बोलिएको सुनिएमा सावधानी अपनाउन प्रहरीले जानकारी दिएको छ।

उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समूह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

त्यस्तै दाङको घोराहीमा बस्ने धनीमान रोकामगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दामादै पक्राउ गरी प्रहरीले फिर्ता गरेको छ ।

पहिलोपटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोस्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ ।