राजनीति

नेता कुइँकेलको सुझाव: काङ्ग्रेसले गुण र दोषको आधारमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्यो

साँखु । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वसांसद दीपकप्रसाद कुइँकेलले आफूले महासमिति बैठकमा पेश गरेको प्रस्ताव अध्ययन गर्न सबै सदस्यलाई अनुरोध गरेका छन् ।

नेता कुइँकेलले जारी महासमिति बैठकमा राजनीतिक प्रस्तावमा २००७ सालदेखि २०७४ सालसम्म नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको परिवर्तनको अपनत्व लिँदै परिवर्तनको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गराउने, राष्ट्रियता, धर्म, संस्कृति र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्ने गरी परिवर्तनको रक्षा गर्न सबैमा अनुरोध गरे ।

साङ्गठनिक प्रस्तावमा सङ्गठन सञ्चालनकोे कमीकमजोरी नदोहो¥याउने प्रण गर्ने, केन्द्रदेखि टोल समितिसम्म कार्यतालिकासहित कार्ययोजना बनाई लागू गर्ने गराउने, सबै तहका सदस्यलाई जिम्मेवारी दिने तथा केन्द्र र प्रदेशमा गुण र दोषको आधारमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरी स्थानीय तहमा जनभावनानुसार काम गर्न लगाउनुपर्ने बताएका छन्।

नेता कुइँकेलले प्रस्तावमा नेपाली काङ्ग्रेसको विधान मान्ने सबै नेपालीलाई सदस्य दिने व्यवस्था गर्ने, केन्द्रदेखि टोल समितिसम्म ६० प्रतिशत खुला प्रत्यक्ष र ४० प्रतिशत जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व गराउने जसमा कम्तीमा ३३ प्रतिशत महिला र ४० वर्ष मुनिका १० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् । लिखित सुझावमा उहाँले वडादेखि सांसदसम्मको उम्मेदवारी चयन गर्न सम्बन्धित तहका सदस्यको मतदान गरी बढी मत ल्याउने तीन जनाको नाम सिफारिश गर्ने र माथिल्लो तहबाट चयन गर्ने व्यवस्था गर्नसमेत सुझाव दिएका छन् ।