राजनीति

व्यापक आन्तरीक विवादका कारण नेकपा स्थायी कमिटी बैठक यसरी लम्बिदैछ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल जारी रहेकाले बैठक सकिन अझै केही दिन लाग्ने देखिएको छ ।

आजको बैठकमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे । गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा आजसम्म कुल २८ जनाले आफ्नो विचार राख्नुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड”ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गरे । बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।