कर्णाली प्रदेश

रत्न पत्थर उद्योग समस्यामा

जाजरकोट । भेरी नगरपालिका–४ गैरीखालीमा रहेको टोनी हेगन रत्न पत्थर उद्योग बजारको अभावमा सञ्चालमा कठिनाइ भएको छ । दुई वर्षअघि घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटमा दर्ता गरेर सञ्चालनमा ल्याइएको टोनी हेगन रत्न पत्थर उद्योग बजारीकरणको अभावले नियमित रुपमा सञ्चालन आउन नसकेको हो ।

जिल्लाको औद्योगिक विकासमा योगदान गर्नुको साथै सयौं युवालाई जिल्लामै रोजगारी दिने उद्देश्य राखेर उद्योग सञ्चालन गरेको उद्योग बजार नपाएपछि सञ्चालनमा कठिन भएको सञ्चालक सुशील रावलले जानकारी दिए ।

रत्न पत्थरको व्यापार गर्नका लागि राष्ट्रिय बजार भन्दा पनि अन्तर्राष्ट्रिय बजारको आवश्यकता पर्ने बताउँदै सुशील रावलले भने, “हाम्रो लागि नजिकको अन्तर्राष्ट्रिय बजार भनेको भारत हो, भारतले हामीले निर्माण गरेको माल नै खरीद गर्दैन, निर्माण नगरेको माल मात्र जति लिए पनि खरीद गर्ने गरेको छ । हामी जस्ता साना उद्योगीले उत्पादन गरेको सामान थाइल्याण्ड पु¥याउन निकै गाह्रो छ, रत्न पत्थरको व्यापार थाइल्याण्डमा निकै राम्रो छ ।”

उद्योगमैत्री कानून बन्न नसकेको बताउँदै रावलले भने, “रत्न पत्थर अन्तर्राष्ट्रिय बजारमा लिएर कारोवार गर्नलाई यतिबेला खानी विभागले अनुमति दिएको छैन, राष्ट्रिय बजारमै व्यापार गर्नका लागि पनि तोकिएको परिणाममा मात्र कारोवार गर्न पाइने व्यवस्था गरेको छ ।”

सरकारले उद्योगमैत्री नीति निर्माण गर्नुपर्ने बताउँदै मिनरल्स कम्पनी प्रालि कुशे गाउँपालिका–३ अर्छानीका सञ्चालक करे चदाराले भने, “सरकारले उद्योगीलाई अनुदान दिने, बिनाधितो ऋण प्रवाह गर्ने नीति निर्माण गर्नुपर्छ तर, तीन तहका सरकारले त्यसो गर्न सकिरहेका छैनन् ।”

चुनावको बेला जाजरकोट जिल्लालाई पानी र खानीको मुख्य केन्द्र भनेर नेताले भाषण गर्ने गरेको भए तापनि कुर्सी र सत्तामा पुगेपछि नेताले बिर्सिने गरेको चदाराले आरोप लगाए ।