बाग्मती

सवारी मार्गको अध्ययन अन्तिम चरणमा

ललितपुर । काठमाडौँ उपत्यकामा कुनकुन मार्गमा कति गाडी गुडाउने भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ । प्राथमिक, सहायक र भित्री गरेर तीनथरिका मार्ग निर्धारण गर्न लागिएको प्रदेश नं ३ अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बताएको छ ।

सडकको लम्बाइ र जनसङ्ख्याको आधारमा मार्ग छुट्टाउन लागिएको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताए । प्राथमिक मार्गमा चक्रपथबाट दुईतर्फको दुई, बूढानीलकण्ठबाट लगनखेल, लगनखेलबाट रत्नपार्कलाई प्राथमिक रुटका रुपमा प्रस्ताव गरिएको छ ।

मुख्य मार्गबाहेकका नगरका भित्री भागमा सहायक मार्ग प्रस्ताव गरिएको छ । नगरलाई नगर नजिकका ठाउँसँग जोड्ने मार्गलाई ‘लिङ्क रोड’ (जोड्ने मार्ग)का रुपमा प्रस्ताव गरिएको छ । उनले भने, “मुख्यमा कति सवारी, सहायकमा कति र ‘लिङ्क’ मार्गमा कति सवारी आवश्यक पर्छ भन्ने तय गर्न बाँकी छ ।”

चारवटा प्राथमिक, १६ सहायक र ४२ वटा ‘लिङ्क’ मार्ग प्रस्ताव गरिएको प्रमुख पन्थीले बताए । एउटा मार्गमा कति वटासम्म गाडी आवश्यक पर्छ भन्ने अध्ययनले देखाउनेछ । तीनथरिका रुटमा कुन रुटमा कति सिट क्षमता भएको र कति लम्बाइका गाडी राख्ने भन्ने छिट्टै नै टुङ्गो लाग्ने उनले बताए।

अहिले यातायात व्यवस्था कार्यालयले यातायात व्यवसायीले मागेकै मार्ग दिइरहेको छ । उहाँले भन्नुभयो, “मार्ग पूरै टुङ्गो लागेपछि सरकार र यात्रु दुवैलाई सहज हुनेछ ।”

यातायात क्षेत्रमा लामो समयदेखि रहेको ‘एकाधिकार’ सरकारले गतवर्ष अन्त्य गरेको थियो । कार्यालयले अहिले यातायात व्यवसायीले मागेकै रुट दिइरहेको छ । मागेको रुट दिँदा कतै सवारीको चाप बढी त कतै सवारी जान चाहँदैनन् ।