प्रदेश 2

सप्तरीमा हात्तीले आधा दर्जन घर भत्कायो

सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले मंगलबार राति सप्तरीको कञ्चनरुप नगरपालिकामा आधा दर्जन घर भत्काएको छ । हात्तीले घर भत्काउनुका साथै अन्नबाली, तरकारी खाएर कुल्चिएर नष्ट पारेको छ ।

३ वटा समूहमा आएको जंगली हात्तीले कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का रहमान मियाँको घर, मुस्तुफा मियाँको एउटा घर, बौकाको छोरीको घर भत्काउनुका साथै दर्जनौं किसानको अन्नबाली कुल्चिएर लाखौंको क्षति पुर्यााएको वडा नम्बर १२ का वडा सदस्य मोहम्मद करिमले बताए ।

यस्तै, वडा नम्बर ७ मा रहेको माधव खतिवडाको घर, महेश्वर मेहताको घर भत्काउनुका साथै अन्नबाली खाइदिइको छ । यसैगरी वडा नम्बर ७ कै रामधनी महतोको ५ कठ्ठामा लगाएको तरकारी खेती कुल्चिएर नष्ट पारेको स्थानीय महेश महतोले बताए ।

यस क्षेत्रमा दिनदिनै हात्तीले आतंक मच्चाउदा स्थानीयहरु रातभर जागै बस्न बाध्य भएका छन् । स्थानीय प्रदीप पोखरेलले भन्नुभयो ‘अन्नपात खाएर र घर भत्काएर नोक्सान पार्छ, कुन बेला ज्यान लिने हो त्यसको कुनै टुंगो छैन ।’ हात्तीको आक्रमणबाट यस नगरपालिकामा विभिन्न समयमा ६ जनाको ज्यान गैसकेको छ भने घाइते भएका केदार साहको उपचार भइरहेको छ ।

त्यसैगरी, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा रहेको जगमोहन नयाँ बस्तीमा जङ्गली हत्तीले ३ जनाको घर भत्काएको छ । स्थानीय रामसिंह तामाङ्ग, तिलमान तामाङ्ग र सितामाया तामाङ्गको घर भत्काएको स्थानीयले जानकारी दिएका छन् ।