समाचार

प्रहरीलाई कुटपिट गरी हतियार लुटियो

वीरगञ्ज । पर्साको सीमावर्ती भारतीय बजार इनर्वातर्फ पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा सोमबार राति प्रहरी चौकी पांडेपुरका प्रहरीलाई कुटपिट गरी हतियार लिइ तस्कर फरार रहेका छन् ।

पांडेपुर नजीकको औरही खोलाको बाटो गरी सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको सुचनाका आधारमा राति ३ बजे तिर प्रहरी चौकी पिडारी गुठीबाट गएको टोलीले तस्करलाई रोकन खोज्दा तस्कर र प्रहरीबीच विवाद शुरु भएको थियो । चौकीबाट थप तीन जना प्रहरी घटनास्थल पुगेपछि विवाद झन् चर्किन जाँदा करीब ४० जनाको सङ्ख्यामा रहेका तस्करले प्रहरी जवानलाई लाठी र भाटाले कुटपिट गरी एकनाल थ्री नट थ्री बन्दुक लुटेर फरार भएका छन् ।

तस्करको कुटाइबाट प्रसनी विष्णुदेव यादव, प्रहरी जवान प्रेमबहादुर राणा र अर्जुन चौधरी घाइते भएका छन् । घाइतेको नेशनल मेडिकल कलेज र न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । घाइतेमध्ये प्रसनी यादव र प्रज चौधरी सख्त घाइते रहेको बताइएको छ । ठूलो सङ्ख्यामा रहेका तस्कर फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।