कर्णाली प्रदेश

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

सिंजा । जुम्लामा अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय खारेज हुँदा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउनै समस्या भएको छ ।

पहिला अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रको सिफारिश र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य परीक्षणको आधारमा महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्दै आएको थियो । तर गत साउनदेखि जिल्लास्थित महिला तथा बालबालिका कार्यालय खारेज भएपछि अपाङ्गता भएका व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित भएका हुन् ।

अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्र, जुम्लाका अध्यक्ष नन्दराज धितालले अहिले कार्यालयमा अपाङ्गताको परिचयपत्र नपाएको गुनासो बढ्न थालेका बताए । “अहिले त्यो काम कसरी र कुन कार्यालयबाट हुन्छ भन्ने कुरा अन्योलमा छ”, उनले भने । सङ्घीयतापछि घरदैलोमा सरकारी सेवासुविधा पाउने भनिए पनि अपाङ्गता भएका व्यक्ति परिचयपत्र पाउनबाटै बञ्चित भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द पुरीका अनुसार स्थानीय तहबाट सबै सामाजिक सुरक्षाका काम भएका छन् । तर अपाङ्गता परिचयपत्र भने वितरण गर्न सकिएको छैन । परिचयपत्र वितरणका लागि स्पष्ट निर्देशिका नभएकाले अहिलेसम्म अन्योल छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलका अनुसार अपाङ्गता परिचयपत्र वितरणका लागि तीनवटै सरकारी तवरबाट समन्वय र सहकार्य गरी यस बारे छिटो निर्णय गर्नुपर्ने हुन्छ ।

कर्णाली प्रदेशमा दुई हजार ८६८ जना अपाङ्गता भएका बालबालिका छन् । तीमध्ये ८८५ जनालाई मात्र परिचयपत्र वितरण गरिएको केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनमा उल्लेख छ ।