समाचार

मेलम्ची ठेक्का लिएको सिएमसीको अढाइ अर्ब रूपैयाँ धरौटी रोक्का गर्न बैंकलाई पत्राचार, आयोजनाको काम अलपत्र

काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीको अढाइ अर्ब रूपैयाँ धरौटी रोक्का राख्न बैंकमा पत्राचार गरेको बताएको छ ।

मेलम्ची खानेपानी विकास समितिले सोमबार सिएमसीको अढाइ अर्ब धरौटी रोक्का गर्न स्ट्यान्डर्ड चार्ट बैंकमा पत्राचार गरेको हो । आइतवार राति इटालि भाग्न खोज्ने सिएमसीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीलाई प्रहरीले काठमाडौबाट पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाए थियो । उनीहरू समातिएसँगै विकास समिति र खानेपानी मन्त्रालयले उसको धरौटी रोक्का राख्न अग्रसरता देखाएका हुन् । विकास समितिले आधिकारिक रूपमा सिएमसीको धरौटी रोक्का राख्न थालिएको प्रक्रियाबारे भने केहि बताएको छैन।

तर, यता प्रधानमन्त्री कार्यालयका सचिव दीपेन्द्रनाथ शर्माले तत्कालका लागि सिएमसीको धरौटी रकम रोक्का गरी कानुनी कारबाही प्रक्रिया थालिएको बताए । उनले टाट पल्टिएको कम्पनीमाथि यो कारबाही कानुनसम्मत हो या होइनबारे आफू यकिन हुन नसकेको बताए ।
‘धरौटी रकम रोक्का राख्ने प्रक्रिया जायज हुन्छ वा हुँदैन भन्नेबारे म कानुनी परामर्शमा छु,’ सचिव शर्माले भने, ‘यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय नियम कानुन के हुन्छ पूरै निक्र्यौल नभइकन म भन्न सक्दिनँ।’

टाट पल्टिएको भनिएको उक्त कम्पनीका कर्मचारी मेलम्ची खानेपानीको काम अधुरो राखेर भाग्न खोजेपछि समितिले धरौटी रकम रोक्का राख्ने प्रक्रिया अघि बढाएको हो।

सिएमसी कम्पनी आफैंले केही समयअघि टाट पल्टिएको सूचना सार्वजनिक गरेको जानकारीमा आएपछि त्यसबारे खोजीनीति थालिएको थियो ।
इटालीस्थित अदालतले सिएमसीलाई साधारण प्रशासनिक काम मात्र गर्न आदेश दिएको जानकारीमा आएका शर्माले बताए ।
मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरू भएको हो ।

सुरूमा यो आयोजना सन् २००७ मा सकिन्छ भनिएको थियो ।सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो र्पुयाइएको थियो । सन्२०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो । तर चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो ।

थप दुई आयोजना पनि समस्यामा :

यस्तै सीएमसी वित्तीय संकटमा फसेपछि मेलम्चीबाहेकका दुई निर्माणाधीन जलविद्युत आयोजना पनि समस्यामा पर्ने भएका छन् ।

तनहुँ जलविद्युत आयोजना र सोलु–दूधकोशी जलविद्युत आयोजनाको ठेक्का सीएमसीले नै पाएको छ ।

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि सीएमसी ठेकदारका रुपमा छानिएको थियो । यसमा एशियाली विकास बैंक (एडीबी) कै प्रमुख लगानी छ ।

एडीबीले प्राविधिक रुपमा योग्य ठहर गरेपछि सीएमसीसँग तनहुँमा २० अर्ब ६४ करोड ५२ लाख रुपैया“मा ठेक्का सम्झौता भएको थियो । यो आयोजनाको निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य छ ।

यस्तै ६८ मेगावाटको सोलु–दूधकोसी जलविद्युत आयोजनामा सीएमसीले इन्जिनियरिङ, खरिद र निर्माणको जिम्मा लिएको थियो । निजी क्षेत्रबाट निर्माण गर्न लागिएको आयोजनामा सीएमसीले ८ अर्बको ठेक्का पाएको थियो । अबको ३ वर्षभत्र निर्माण सक्ने लक्ष्य रहे पनि आयोजना अन्योलमा परेको छ ।