आर्थिक

घोराहीबाट १४ बालश्रमिकको उद्धार

दाङ ।  घोराही बजारका विभिन्न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेको ती बालबालिकालाई नगर प्रमुख नरुलाल चौधरीले आवश्यक शैक्षिक सामग्रीहरुसहित परिवारको जिम्मा लगाएका छन्।

बालबालिकालाई परिवारको जिम्मा लगाउँदै नगर प्रमुख चौधरीले अभिभावकहरुलाई जिम्मेवार बन्न आग्रह गरे। आफ्ना बालबालिकालाई उमेरअनुसार उसले पाउने अधिकारको ग्यारेण्टी अभिभावकले नै गर्नुपर्ने भन्दै बालबालिकालाई श्रममा नपठाउन आग्रह समेत गरे।

उपमहानगरलाई बालमैत्री नगर बनाउने योजना स्मरण गराउँदै उनले बालबालिकालाई काममा लगाउने र पठाउने दुबैलाई कारवाही हुने सचेत रहन आग्रह गरे।

उद्धार गरिएका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने सहमतिअनुसार परिवारलाई आयआर्जनका लागि जनही १५ हजार रुपैयाँ सहयोग गरिएको हिप्डेकका अध्यक्ष विकिरण गौतमले बताए। बालबालिकालाई विद्यालय पोशाक, झोला, कापिकलम उपलब्ध गराइएको छ ती बालबालिकालाई ग्रिल उद्योग, गाडी धुलाई सेन्टर, होटल, फर्निचर उद्योग, जुत्ता सिलाउने पसलबाट उद्धार गरिएको हो।