खेलकुद

साविककाे विजेता विराटनगर बाहिरियाे, काठमाण्डाै अघिल्लाे चरणमा

काठमाण्डाै ।  काठमाण्डाै किङस इलाभेन राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा साविकको विजेता विराटनगर वारिवर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं क्वालिफायरमा पुगेको हो । साविकको विजेता विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टियु क्रिकेटमा मैदानमा विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।काठमाडौंका लागि केभिन ओ ब्राएनले अविजित ४५ रन जोडे । यस्तै काठमाडौंका लागि प्रदीप साहुले अविजित २१ रन जोडे । विराटनगरका लागि पारस खड्का र भान डेर मेर्वीले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्काको विराटनगरले १७ ओभर ५ बलमा अलआउट हुँदै १०० रन बनाएको थियो । विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५ रन जोडे । यस्तै हरि बहादुर चौहानले २२ रन जोड्दा कप्तान पारस खड्काले २१ रन बनाए । विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट लिए । यस्तै बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले २/२ विकेट लिए ।

जितसंगै काठमाडौंले ५ खेलबाट ८ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ । काठमाडौंले अब फाइनल प्रवेशका लागि क्वालिफायरमा ललितपुर प्याट्रियट्ससंग खेल्नेछ । ललितपुर ८ अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायरमा पुग्न सफल भयो । ललितपुर र काठमाडौंबीचको खेल मंगलबार हुनेछ ।

काठमाडौंसंग विराटनगर पराजित भएपछि चितवन टाइगर्स प्ले अफमा पुगेको छ । चितवनले अब इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्ससंग खेल्नेछ ।