अन्तर्राष्ट्रिय

यमनमा युद्धविराम भएकै बेला भिडन्त, २९ को मृत्यु

दुबइ । विद्रोहीहरुको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा हवाइ आक्रमणसँगै स्थलगत भिडन्त भएको छ ।

संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लङ्घन गर्दै भिडन्त भएको सरकार पक्षीय श्रोत र स्थानीयबासिन्दाले आइतबार बताएका छन् ।

शनिबार राति भएको भिडन्तमा परी कम्तीमा २९ लडाकुको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २२ जना हुथी विद्रोही रहेको जनाइएको छ । अल डुरायहिमी जिल्लामा भएको भिडन्तका क्रममा सात जना विद्रोहीलाई नियन्त्रणमा लिएको पनि सरकार पक्षीय श्रोतले जनाएको छ ।

घटनास्थल होडेइडा देखि २० किलोमिटर टाढा पर्दछ । स्थानीय बासिन्दाले टेलिफोनमा दिएको जानकारी अनुसार गोली हानाहानको आवाज रातभरी सुनिएको थियो । उनीहरुले आइतबार विहान पाँच बजेसम्म भिडन्त भएको पनि जानकारी दिएका छन् ।

राष्ट्रसंघको पहलमा यमनको सरकारी पक्ष र विद्रोही पक्षका विचमा शान्ति वार्ता गराउने गरी केही समय अगाडी भएको युद्धविराम अहिले कार्यान्वयन रहेको छ ।