खेलकुद

लिभरपूलले म्यान्यूलाई हरायो, आर्सनल पराजित

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपूलले म्यानचेस्टर यूनाइटेडलाई ३–१ ले हराएको छ। एन्फील्डमा आइतबार राति भएको खेलमा लिभरपूललाई विजयी गराउन खेर्दान शाकिरीले दुई गोल गरे भने  सार्दियो मानेले एक गोल गरे।

पराजित टोली म्यान्चेस्टर युनाइटेडका जेस्सी लिङ्गार्डले एक गोल फर्काए। प्रियिमर लिग फुटबलकै अर्को खेलमा चेल्सीले ब्राइटनलाई २–१ ले हराएको छ। चेल्सीका लागि पेड्रो र एडिन हाजार्डले एक–एक गोल गरे। ब्राइटनका सोली मार्चले एक गोल फर्काए।

अर्को खेलमा भने  आर्सनल पराजित भएको छ । आर्सनललाई साउथह्याम्पटनले ३–२ ले हराएको हो। घरेलु मैदानमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले २ तथा चार्ली अष्टीनले एक गोल गरे।

आर्सनलका लागि दुबै गोल हेन्रीक मख्तरीयानले गरे।प्रिमियर लिग फुटबलको अंक तालिकामा १७ खेलबाट ४५ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा उक्लिएको छ ।

समान खेलबाट ४४ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने तेस्रो स्थानको टोटनह्यामको ३९ अंक छ। ३७ अंकसहित चेल्सी चौथो तथा ३४ अंक जोडेको आर्सनल पाँचौ स्थानमा छ।