प्रवास

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

काठमाडौँ । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् ।

विभिन्न सांस्कृतिक कार्यक्रम गर्न तथा आपसमा भेला भई अन्तक्र्रिया एवं छलफल गर्नका लागि सो भवन बनाउन लागिएको हो । कोलकातामा रहेका नेपालीहरुको छाता सङ्गठन संयुक्त नेपाली वेलफेयर ट्रष्टले भवन निर्माणका लागि पहल गरिरहेको छ । नेपाल सरकारबाट रु ६ लाख र नेपाली समुदायबाट सङ्कलित रु ४ लाखबाट करीब १५ वर्षअघि खरीद गरिएको जग्गामा भवन बनाउन माटो परीक्षण र योजना तयार भइसकेको ट्रष्टका अध्यक्ष खिमराज बरालले बताए । “कोलकातामा नेपाल भवन हाम्रो सपना हो, हाम्रो गौरव हो, यसको सफलताका लागि नेपाल सरकारले थप सहयोग गर्नुपर्छ”, खिमराजले भने । भवन बनाउन करीब रु १० करोड लाग्ने अनुमान गरिएको छ ।

यसबारे नेपाली समुदायले अनुरोध गरेअनुसार कोलकातास्थित महावाणिज्यदूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको र सोहीअनुसार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई अनुरोधपत्र लेख्दै भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेको तर अर्थ मन्त्रालयबाट काम अघि नबढेको बताए । “यसमा ठूलो जोड नगरी सफलता प्राप्त हुँदैन”, धर्मराजले भने ।

भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताका पूर्वअध्यक्ष नारायणप्रसाद होमागाईँले नेपाल भवनबारे धेरै प्रचारप्रसार भएको बताउँदै प्रस्तावित चारतले भवनमा सम्मेलन कक्ष, पुस्तकालय, कार्यालय कक्ष र आवाससमेत बन्ने हिसाबले नक्शाको तयारी गरिएको र माग गरिएको रकम पाइएमा अढाइ वर्षमा भवन बन्ने जानकारी दिए ।

गत मङ्सिर २२–२३ गते ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’का अवसरमा महावाणिज्यदूतावासमा आयोजित अन्तक्र्रियामा महावाणिज्यदूत एकनारायण अर्यालले नेपाल भवन बन्नुपर्नेमा नेपाल सरकारलाई मनाउन सकिएको बताउँदै अब अर्थ मन्त्रालयमा पहल गरिने आश्वासन दिए । उनले कोलकातामा रहेका नेपाली भाषीहरु निकै सक्रिय भएको र प्रकाशन पनि निकै हुने गरेको बताउँदै भारतमा नेपाली भाषीको सङ्ख्या सर्वेक्षण हुनुपर्ने विचार व्यक्त गरे ।

उनले रविभानु काव्यवाटिकाका लागि पश्चिम बङ्गाल सरकारले जग्गा दिने आश्वासन दिएकाले सोका लागि पहल गरिने पनि बताए । भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरेले काव्यवाटिकाका लागि भानुभक्त आचार्यको शालिक आफ्नो संस्थाले उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भवनका लागि मञ्चसँग सहकार्य गरी नेपाल सरकारसँग आग्रह गरिने वचन दिए । नेपालका लागि कावा राजदूत भरतकुमार रेग्मीले भाषा र साहित्यमा दूतावासले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी विसं २०७८ को जनगणनामा विभिन्न देशमा बसेका नेपालीहरुको तथ्याङ्क पनि लिनुपर्ने बताए । कोलकातामा नेपाली र नेपालीभाषी करीब ५० हजार रहेको बताएको छ ।

सो अवसरमा नेपाली समुदायले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नेपाल–कोलकाता भाडा हालको करीब रु २० हजार महँगो भएकाले घटाइनुपर्ने बताउँदै राजदूतावास र महावाणिज्यदूतावासले धार्मिक–सांस्कृतिक पर्यटनमा जोड दिनुपर्ने सुझाव दिएको थियो ।