राजनीति

विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्नेः अध्यक्ष दाहाल

बेझाड । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताएका छन् । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो ।

पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुदै अध्यक्ष दाहालले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताए । उनले यस विद्यालयमा सबैको माग आङ्गिक कलेज स्थापना गर्ने भएको हुँदा आफूले सहयोग गर्ने बचन दिए ।

अध्यक्ष दाहालले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भएपनि उपयुक्त ढाँचाका कारण रोकिएको हुँदा पुल पुनःनिर्माणका लागि तीव्रता दिने बताए । उनले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताए ।

देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने उनको भनाइ थियो । रामपुरले सिङ्गो नमूना शहरका रुपमा विकास हुने प्रशस्त सम्भावना बोकेको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीव्रता दिने बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरको विकास र आवश्यकताबारे जानकारी गराएका थिए ।

पूर्वी पाल्पाकै ठूलो र धेरैलाई शिक्षा प्रदान गरेको यस विद्यालयमा उच्च शिक्षातर्फ व्यवस्थापन, विज्ञान तथा तीनवर्षे कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।